टाइम्स संवाददाता
लिस्बोन, माघ १८ । रोजगारीको सिलसिलामा पोर्चुगलमा बसोबास गर्ने साहित्य अनुरागीहरुको बृहत भेला गैर आवासीय नेपाली संघ पोर्चुगलको लिस्बोन-रोसियोस्थित कार्यालयमा आइतवार सम्पन्न भएको छ। भेलाले पोर्चुगलमा रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रसारण गर्ने उद्देश्यले एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ ।
पत्रिका प्रकाशनार्थ अर्को भेलाको आयोजना गरी एक समिति गठन गरिने जनाइएको छ । साहित्य सर्जक र साहित्यलाई माया गर्ने व्यक्तित्त्वहरुको उपस्थिति रहेको सो भेलामा सर्जकहरुले आफ्ना कृतिहरु सुनाएका थिए । यसरी आफ्ना कृति सुनाउनेमा कमल सिटौला, केशव भट्टराई, विष्णु खनाल, अनुराग कँडेल, भीम केसी कमल, इन्द्रेणी शर्मा, योगेन्द्रमिलन छन्त्याल, सुनिल सङ्गम लगायतका थिए ।
शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रिय गानबाट प्रारम्भ भएको भेलाको उद्घाटन मोतीराम भट्टको गजल 'सानै उमेर देखि मन हर्न लागे' वाचन गर्दै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य मकर हमालले गरेका थिए भने भेलाको संचालन सर्जक सुनिल संगमले गरेका थिए ।
आफ्नो प्रतिक्रिया पठाउनुस्