
मदन कोइराला
काठमाडौं, फागुन २० । फ्रान्सेली कम्पनी एयर बसले जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले दिएको बैना रकम फिर्ता गरेको छ । एयर बसले शुक्रबार निगमको खातामा ७ लाख ५० हजार ९ सय ९२ अमेरिकी डलर फिर्ता गरेको निगमका प्रवक्ता राजु केसीले जानकारी दिएका छन् । उनका अनुसार एयर बसले हिमालयन बैंकमा रहेको ००३००४००६३३००४८ नम्बरको खातामा बैना रकम फिर्ता पठाएको हो ।
जहाज खरिदका लागि रकमको व्यवस्था नहुँदै निगमका निलम्बित अध्यक्ष सुगतरत्न कंसाकारले युरोपेली जहाज निर्माता कम्पनी एयर बसलाई बैना करम पठाएका थिए । निगमको जहाज खरिद गर्न सञ्चालक समितिको निर्णय र बजेट व्यवस्था नगरी करिब १० अर्ब रुपैयाँका दुई जहाज खरिदका लागि बैना बापत एयर बसलाई ५ करोड ७३ लाख ७५ रुपैयाँ बैना पठाएर भ्रष्टाचार गरेको आरोपमा उनलाई धरौटी माग गरिएको थियो । धरौटी राख्न नसकेपछि कंसाकारर्लाइ जेल चलान गरिएको थियो । जेलचलान भएका कंसाकार बिरामी भएपछि अहिले अस्पतालमा उपचाररत छन् । निगमले जहाज किन्ने निर्णय नगरेको र जहाज खरिदका लाग रकमको व्यवस्था नहुँदै एयर बसलाई बैना पठाइकोमा अख्तियारले कंसाकारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
यसैबीच निगमका अध्यक्ष सुगतरत्न कंसाकार ६ करोड धरौटीमा रिहा भएका छन् । प्राइम कमर्शियल बैंक जमानत बसेपछि कंसाकार शुक्रबार रिहा भएका विशेष अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिए ।
मुद्दाको पेशी आइतबार तोकिएको छ । १६ गते ६ करोड धरौटी बुझाउन नसक्दा कंसाकारलाई जेल चलान गरिएको थियो । कंसाकारले दुईवटा विमान खरिदका लागि एयर बसलाई बैना पठाएका थिए । बैना पठाउँदा प्रक्रिया नपुगेको तथा भ्रष्टाचार भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले विमान खरिदमा रोक लगाएको थियो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले विमान किन्ने कुनै ठोस निर्णय नगरेको र बैना फिर्ता हुनेसमेत नदेखिएको भन्दै धरौटी रकम बुझाए तारेखमा राख्न र नबुझाए थुनामा पठाउन आदेश दिएको थियो ।
आफ्नो प्रतिक्रिया पठाउनुस्