
प्रजातन्त्रका महारथी अमेरिका र भारत पनि नेपालभन्दा पछाडि
सुदर्शन आचार्य
काठमाडौं, फागुन २५ । राजनीतिमा महिला सहभागिता र संसद्मा प्रतिनिधित्वका दृष्टिले प्रजातन्त्रका महारथी मानिएका अमेरिका र भारतजस्ता मुलुकभन्दा नेपाल निकै अगाडी रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार राजनीतिमा महिला सहभागिताका दृष्टिले नेपाल १८ औं स्थानमा रहेको छ ।
विश्वमै प्रजातन्त्र, शान्ति र सहयोग बढाउने दिशामा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन ‘इन्टर पार्लियामेन्ट्री युनियन’ (आईपीयू) ले जारी गरेको तथ्यांकमा नेपाल १८ औं स्थानमा देखिएको हो ।
विश्वमै मानवअधिकार र लोकतन्त्रको वकालत गर्दै आएको अमेरिका यो सूचीमा ७२ औं स्थानमा रहेको छ भने आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्र दाबी गर्ने भारत ९८ औं स्थानमा रहेको छ ।
राजनीतिमा महिला सहभागिता दृष्टिले नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको छ । संविधानसभामा ३३ दशमलव दुई प्रतिशत महिला सहभागिता भएका कारण नेपाल १८ औं स्थानमा रहेको आईपीयूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सूचीको शीर्षमा ५६ दशमलव तीन प्रतिशत महिला सहभागिताका साथ रुवान्डा रहेको छ भने दोस्रो नम्बरमा स्वीडेन रहेको छ । स्वीडेनको राजनीतिमा ४५ प्रतिशत महिला सहभागिता रहेको जनाइएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकामा ४४ दशमलव पाँच प्रतिशत महिला सहभागिता रहेको छ भने ४३ दशमलव दुई प्रतिशत महिला सहभागिताका साथ क्यूबा चौथो स्थानमा छ ।
आईपीयूद्वारा सार्वजनिक प्रतिवेदनअनुसार पाँचौं नम्बरमा आइसल्यान्ड, छैठौंमा नेदरल्यान्ड, सातौंमा फिनल्यान्ड, आठौंमा नर्वे, नवौंमा बेल्जियम र दशौंमा मोजाम्बिक रहेको छ ।
अंगोला र कोस्टारिका संयुक्त रूपमा ११ औं नम्बरमा रहेका छन् भने अर्जेन्टिना १२ औं, डेनमार्क १३ औं स्पेन १४ औं, तान्जानिया १५ औं, अन्डोरा १६ औं र न्युजिल्यान्ड १७ औं नम्बरमा रहेको छ ।
नेपालभन्दा एक स्थान तल रहेको जर्मनीमा महिला सहभागिता ३२ दशमलव ८ प्रतिशत रहेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
अफगानिस्तान र इराकजस्ता युद्ध प्रभावित मुलुकले पनि राजनीतिमा महिला सहभागिताको दृष्टिले अमेरिका र भारतलाई निकै पछाडि छोडेका छन् । सूचीको ३१ औं नम्बरमा रहेको अफगानिस्तानमा महिला सहभागिता २७ दशमलव सात प्रतिशत रहेको छ भने ४० औं नम्बरमा रहेको इराकमा २५ दशलव दुई प्रतिशत महिला सहभागिता रहेको छ ।
त्यस्तै पाकिस्तान ५१ औं स्थानमा रहेको छ भने चीन ५५ औं, बंगलादेश ६५ औं स्थानमा रहेको छ ।
प्रतिवेदनअनुसार अमेरिकी संसद्को तल्लो सदनमा १६ दशमलव ८ प्रतिशत र माथिल्लो सदनमा १७ प्रतिशत महिला सहभागिता रहेको छ । भारतमा भने तल्लो सदनमा १० दशमलव ८ र माथिल्लो सदनमा १० दशमलव तीन प्रतिशत महिला सहभागिता रहेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले नेपाल, भारत र श्रीलंकामा विधवा महिलालाई केन्द्रीत गरी क्षेत्रीय कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । लैंगिक समानता र महिला सशक्तीकरण संगठन (यूएन वोमेन) की दक्षिण एसिया निर्देशक एनी एफ स्टेनहेमरका ‘। अनुसार विधवाहरूले भोग्दै आएका सामाजिक बहिष्कारजस्ता समस्यालाई यस कार्यक्रमले न्यूनीकरण गर्नेछ ।
आफ्नो प्रतिक्रिया पठाउनुस्