
टाइम्स संवाददाता
नवलपरासी, फागुन २५ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं सभासद् एमएस थापाले संविधान निर्माण गर्न बाँकी ८२ दिनभित्र संविधान बन्नेमा शंका व्यक्त गरेका छन् । उनले संविधानका बारे धेरै मुद्दामा वहस र छलफल गरी निर्णयमा पुग्न बाँकी रहेकाले तोकिएको समयमा संविधान बन्ने सम्भावना झिनो हुँदै गएको बताए ।
नवलपरासीको कावासोतीमा बुधबार राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै थापाले संविधान तोकिएको समयमा नबने देश ठूलो दुर्घटनामा फस्ने र त्यसको भागीदार ठूला राजनीतिक दलहरू हुनुपर्ने बताए ।
अध्यक्ष थापाले जनमुक्ति पार्टीले २० वर्षदेखि चलाएको आन्दोलनकै कारण संविधानसभाको निर्वाचनमा ठूला दलहरू समानुपातिक निर्वाचन प्रणालीमा गएको र राज्यका विभिन्न निकायमा समानुपातिक प्रतिनिधित्व हुन थालेको उल्लेख गर्दै यसलाई आफ्नो पार्टीको वैचारिक र नैतिक विजय भएको दाबी पनि गरे ।
त्यसैगरी राजनीतिक दलहरूमा रहेका सबै जनजाति सभासद्हरू जनजातिका मुद्दामा मौन बस्ने गरेको आरोप लगाउँदै उनले कार्यकर्तापंक्तिलाई भने, ‘सबै जनजाति सभासद्हरू जनजातिका मुद्दामा मौन बस्ने गरेका छन्, त्यसैले तपाइँहरूले उनीहरूलाई जनजातिका मुद्दा उठाउनका लागि खबरदारी गरिरहनु आवश्यक छ ।’
महाधिवेशनको उद्घाटन हुनुअघि नवलपरासीको डण्डादेखि कावासोती थाना चोकसम्म विभिन्न झाँकीसहितको ¥याली निकालिएको थियो । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न जनजातिका झाँकी तथा जातीय सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै जनमुक्ति पार्टीका सहअध्यक्ष एवं पूर्वमन्त्री गोरेबहादुर खपांगीले ठूला राजनीतिक दलका कारण देश अहिलेको जटिल समस्यामा फसेको दाबी गर्दै बहुजातीय सरकारमात्र राष्ट्रको एकमात्र निकास हुने जिकिर गरे ।
कार्यक्रममा जनमुक्ति पार्टीका उपाध्यक्ष शंकरलाल चौधरी, राष्ट्रिय जनशक्ति पार्टीका महामन्त्री केशरबहादुर विष्ट, एकीकृत नेकपा माओवादीका केन्द्रीय अध्यक्ष किसान गैरेलगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधि भने सहभागी भएनन् ।
महाधिवेशनको बन्द सत्रमा नेपालका ५६ जिल्ला र युके, जापान र हङकङबाट गरी ५ सय ५० जना प्रतिनिधि र दुई सय पर्यक्षक सहभागी हुने पार्टीका उपमहासचिव केशव सूर्यवंशीले बताए । बन्द सत्र बिहीबारदेखि सुरु हुनेछ ।
महाधिवेशनले जनमुक्ति विचारधारासमेत पारित गर्ने संयोजक लिम्बूले बताए ।
आयोजकका अनुसार यो महाधिवेशनले पार्टीलाई एकल नेतृŒवबाट सामुहिक नेतृत्वमा लैजाने र केन्द्रीय समितिका ठाउँमा ६५ सदस्यीय संघीय परिषद् बनाउनेछ ।
यसैबीच राष्ट्रिय जनमुक्ती पार्टीको चौथो महाधिवेशनमा नवलपरासी जिल्लाको डण्डा बजारदेखि कावासोतीसम्म गरिएको र्यालीले पूर्व–पश्चिम राजमार्ग दिउँसो १ बजे देखि २ बजेसम्म एक घण्टा अवरुद्ध भएको थियो ।
आफ्नो प्रतिक्रिया पठाउनुस्