
टाइम्स संवाददाता
विराटनगर, फागुन २५ । विराटनगर उपमहानगरपालिकाले मोरङको डंग्राहा–५ मा निर्माण गर्न लागेको फोहोर प्रशोधन केन्द्र स्थगित गर्न माग गर्दै स्थानीयवासीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।
टेण्डर गरेअनुसारको जमिन खरिद नगरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले मनोमानी ढंगबाट हात्तीमुढा गाविसमा जमिन खरिद गरेको, स्थानीयवासीलाई विभिन्न सुविधा दिइने भनी गरिएको सहमतिलाई समेत रेग्मीले लत्याएको आरोप लगाउँदै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
स्थानीयवासीको तर्फबाट डंग्राहा गाविसका सचिव महेन्द्र स्वर्णकारको संयोजकत्वमा आएको समूहले प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
उपमहानगरपालिकाकै निर्देशनमा बनेको फोहोर प्रशोधन केन्द्र सरोकार समितिका सदस्यहरूले विगतमा गरेको सम्झौता र आईएलओ अभिसन्धि १६९ अन्तर्गत जनताको अग्राधिकारविरुद्ध उपमहानगरपालिकाले काम गर्न थालेपछि निर्माण कार्य तत्काल रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको स्थानीयवासी अमनलाल मोदीले बताए ।
सरोकार समिति र स्थानीयवासीले आफूहरूको मागलाई बेवास्ता निर्माण कार्य अघि बढाइए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
उनीहरूले ज्ञापनपत्रको बोधार्थ स्थानीय विकास मन्त्रालय, विराटनगर उपमहानगरपालिका र फोहोर प्रशोधन केन्द्रको कार्यालय विराटनगरलाई समेत दिएका छन् ।
फिनल्याण्ड सरकारको ४० करोड र विराटनगर उपमहानगरपालिकाको १५ करोड गरी करिब ५५ करोड रुपैयाँको लगानीमा क्षेत्रीयस्तरको अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि उपमहानगपालिकाले डंग्राहामा १६ विघा जमिन खरिद गरिसकेको छ ।
आफ्नो प्रतिक्रिया पठाउनुस्