
टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ । नेपाल उद्योग वाणिज्य महासंघले न्यूनतम पारिश्रमिक तीन गुणाले वृद्धि गर्नुपर्ने माग राखी हेटौंडा, विराटनगर, वीरगञ्जलगायतका स्थानमा उद्योग व्यवसाय बन्द गराइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल उद्योग सुचारु गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अभिसन्धि, नेपालको प्रचलित श्रम कानुन, अन्तर्राष्ट्रिय प्रचलनअनुसार मुद्रा स्फीति, मुलुकको आर्थिक स्थिति, उत्पादकŒव र उद्योग प्रतिष्ठानहरूको तिर्न सक्ने क्षमताका आधारमा वार्ताबाट पारिश्रमिक निर्धारण गर्नका लागि आफू तत्पर रहेको जनाउँदै महासंघले विभिन्न स्थानमा विरोधका कार्यक्रम एवं उद्योग प्रतिष्ठान सञ्चालनमा अवरोध सिर्जना गराइएकोमा चिन्ता व्यक्त गरेको छ ।
‘महासंघ मूल्यवृद्धिको दरलाई मूल आधार मानी न्यूनतम पारिश्रमिक बढाउन तयार छ,’ महासंघद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर गैरकानुनी रूपमा बन्द अवरोध खडा गरी दबाबमा सम्झौता गराउने प्रचलनको अन्त्य गर्न महासंघ आहृवान गर्दछ ।’ उद्योग प्रतिष्ठानहरू गैरकानुनी रूपमा बन्द हुँदा कामदार तथा कर्मचारी बन्द अवधिको पारिश्रमिकबाट वञ्चित हुनुपर्ने, उद्योग व्यवसायलाई ठूलो घाटा हुने र समग्रमा राष्ट्रिय अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना हुने स्मरण गराउँदै महासंघले हाल बन्द गरिएका उद्योग प्रतिष्ठानहरू तत्काल सञ्चालनमा ल्याई चालु वार्तालाई सार्थक निष्कर्षमा पुर्याउन सबैमा आग्रह गरेको छ ।
आफ्नो प्रतिक्रिया पठाउनुस्