खोप खुवाएको साढे ३ घन्टामा उद्घाटन
काठमाडौं, माघ २९ । पोलियो खोप अभियानको पहिलो चरण शनिबार बिहान ८ बजे नै मुलुकका ६८ जिल्लामा सुरु भइसकेको थियो । तर बिनाविभागीय मन्त्री गंगालाल तुलाधरले कार्यक्रम सुरु भइसकेको साढे तीन घन्टापछि त्यसको उद्घाटन गरे ।
मन्त्री तुलाधरले उद्घाटनको रूपमा साढे ११ बजे थापाथलीस्थित प्रसूति गृहमा एक शिशुलाई पोलियो थोपा खुवाए । जिल्ला-जिल्लामा विभिन्न पदाधिकारीहरू बिहान ८ बजे नै पाँच वर्षमुनिका बालबालिकालाई थोपा खुवाएर कार्यक्रम उद्घाटन गरिसकेका थिए । कतिपय जिल्लामा त अभियान ७ बजे नै सुरु भइसकेको स्वास्थ्यकर्मीहरूले बताए ।
'नयाँ मन्त्रीलाई प्रभावित पार्न मन्त्रालयका उच्च पदाधिकारीहरूले भताभुंग पारामा उद्घाटन कार्यक्रम राखे,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, 'यो सामान्य घटनाले मन्त्रीको आतुरता र सम्बन्धित निकायको चाप्लुसी गर्ने बानी स्पष्ट हुन्छ ।' यस्ता क्रियाकलापले आमजनतामा गलत सन्देश जाने ती अधिकारीले बताए ।
यसअघि प्राय: अभियान सुरु हुने अघिल्लो दिन स्वास्थ्यमन्त्री वा अन्य उच्च पदाधिकारीले प्रसूति गृहमा पाँच वर्षमुनिका बच्चालाई थोपा खुवाएर उद्घाटन गर्ने गरिएको स्रोतले बतायो । केही वर्ष त्यसै दिन ८ बजे उद्घाटन गरिएको थियो । मन्त्री तुलाधरले थोपा खुवाएपछि १३ औं राष्ट्रिय पोलियो खोप अभियान शुभारम्भ भएको घोषणा गरेका थिए । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकृतले भने, 'राजनीतिक प्रतिबद्घता देखाउन औपचारिक रूपमा कम्तीमा बिहान ८ बजे शुभारम्भ गर्नुपर्नेमा साढे ११ बजे सुरु गर्नुको कुनै औचित्य छैन ।'
मन्त्री तुलाधरले भने यसबारे आफूलाई जानकारी नभएको बताए । 'स्वास्थ्य सचिवले शुक्रबार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोहमा खोप अभियानको उद्घाटन गर्ने प्रस्ताव राख्नु भएपछि महान् काम ठानेर स्वीकृति दिएँ,' उनले भने । उक्त कार्यक्रम बिहानदेखि सुरु भइसकेको जानकारी आफूलाई नभएको उनले बताए । स्वास्थ्य सचिव सुधा शर्माले कार्यक्रम ८ बजे सुरु भए पनि जनचेतना जगाउन 'मन्त्रीज्यूको हातबाट साढे ११ बजे उद्घाटन गरिएको' जनाइन् ।
कान्तिपुर दैनिक