किसुनजी लोकतन्त्रका अविभावक : राष्ट्रपति
संक्रमणका नेता : प्रधानमन्त्री

सरोज अधिकारी
काठमाडौं, फागुन २१ । सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनसँगै नेपाली राजनीतिको एक युगको अन्त्य भएको छ । २००७ सालमा प्रजातन्त्र स्थापनामा सक्रिय भुमिका निर्वाह गरेका किसुनजीको निधनसँगै त्यसताकाका पाका पुस्ताको अन्त्य भएको हो ।
गत वर्ष चैतमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि किसुनजी त्यसबेलाका एकमात्र जीवित योद्धाका रूपमा थिए । तर किसुनजीको निधनसँगै २००७ सालदेखि २०४७ सालसम्म भएका आन्दोलनका अगुवा यस धर्तीले गुमाएको छ ।
दलका नेताहरूले नै किसुनजीको निधनसँगै नेपाली राजनीतिमा एक युगको अन्त्य भएको बताएका छन् । उनीहरूले किसुनजीले देखाएको अहिंसात्मक बाटो र लोकतान्त्रिक पद्धति अझै स्थापित नभएको भन्दै किसुनजीको लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धतालाई कहिल्यै मर्न नदिने बताएका छन् ।
किसुनजीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन ललितपुरको बाँडेगाउँस्थित सरकारी आश्रम पुगेका नेताहरूदेखि लिएर सर्वसाधारणसम्मले किसुनजीलाई लोकतान्त्रिक व्यवस्थाका प्रवद्र्धक, शालिन, शान्त, निष्कलंक, आर्थिक अनुशासित व्यक्ति र राष्ट्रवादीका रूपमा स्मरण गरे ।
राष्ट्रपति डा. रामवरण यादवले पूर्व प्रधानमन्त्री भट्टराईको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको बताएका छन् । शनिबार शोक वक्तव्य जारी गर्दै उनले आफ्ना आदर्श पुरुषका रूपमा रहेका भट्टराईको निधनले आफू निकै मर्माहत भएको जनाएका छन् ।
राष्ट्रपति यादवले स्वर्गीय राजनेता भट्टराई सिद्धान्त र मान्यताविपरीत कहिल्यै सम्झौता नगर्ने अपराजेय नेता रहेको चर्चा गरेका छन् । उनले भट्टराईलाई लोकतन्त्रका अभिभावक भन्दै भट्टराईको सात दशक लामो राजनीतिक जीवन अहिंसावादी चिन्तन र त्यागको नेपाली प्रतिमूर्ति भएको उल्लेख गरेका छन् । भट्टराईको जीवनशैली, स्वच्छ छवि र राष्ट्रवादी व्यवहार वर्तमान र भावी पुस्ताका निम्तिसमेत अनुकरणीय रहने राष्ट्रपति डा. यादवद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा राष्ट्रपति यादवले भट्टराईको निधनबाट शोकाकुल नेपाली जनता र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति परमानन्द झाले ललितपुर बाँडेगाउँस्थित भट्टराई आश्रममा गई स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सो अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति झाले भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व भएको स्मरण गरे ।
उनले भट्टराईको जीवनशैली र व्यवहार अनुशरण गर्ने हो भने नेपाल समुन्नत बन्न सक्ने बताए । नेपाली राजनीतिमा भट्टराईजस्ता त्यागी र आदर्श पुरुषको जन्म कमै हुने उल्लेख गर्दै नेपाली राजनीति र समाजले भट्टराईको योगदानलाई कहिल्यै नबिर्सने जनाए ।

किसुनजीलाई श्रद्धाञ्जलि दिन आश्रम बाँडेगाउँ पुगेका प्रधानमन्त्री झलनाथ खनालले किसुनजीको निधनबाट आफू मर्माहत भएको बताए । भट्टराईको निधनले नेपाली लोकतान्त्रिक पद्धतिमा अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले संक्रमणकालीन अवस्थाको नेतृत्व गर्न माहिर भट्टराईको अहिले नेपाली राजनीतिमा टड्कारो आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री खनालले स्व. भट्टराईप्रति राज्य, सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरे । उनले भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष भएको बताउँदै राणा शासनदेखि राजतन्त्रको अन्त्य गर्न एवं पञ्चायती शासन ढाल्न स्वर्गीय भट्टराईको अतुलनीय योगदान रहेको स्मरण गरे ।
आफूले २०४७ सालमा भट्टराई नेतृत्वको सरकारमा रहेर काम गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री खनालले भट्टराईकै कुशल नेतृत्वका कारण संक्रमणकालीन अवस्थामा नयाँ संविधान जारी गरी आमनिर्वाचन सफल तुल्याइएको स्मरण गरे । लोकतन्त्रलाई संस्थागत गर्दै शान्ति र नयाँ संविधान जारी गर्न वर्तमान सरकार लागिरहेको र स्वर्गीय भट्टराईको सपना पनि यही नै रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री खनालले भट्टराईको भौतिक शरीर नरहे पनि नेपाली जनताको मानसपटलमा बसेको छाप कहिल्यै नमेटिने स्पष्ट पारे । उनले लोकतन्त्रको रक्षा नै भट्टराईप्रतिको सच्चा सम्मान रहने पनि उल्लेख गरे ।

सभामुख सुवास नेम्वाङले नेपालमा संसदीय व्यवस्थाका सूत्रधार भट्टराई आफैं इतिहास भएको उल्लेख गर्दै भट्टराईले थालेको संसदीय परम्पराको जग नेपालमा कालजयी भइरहने धारणा व्यक्त गरे । उनले नेपाली स्वतन्त्रता र अहिंसात्मक आन्दोलनमा जितेका भट्टराईले मृत्युसँग मात्र हार बेहोर्नुपरेको बताए ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २०४७ सालको संविधान निर्माणको क्रम स्मरण गर्दै भट्टराई नेपाली राजनीतिको एक आदर्श पुरुष भएको बताए । उनले भट्टराईप्रतिको सच्चा सम्मानका लागि अहिंसावादी भएर लोकतन्त्रवादी हुन सक्नुपर्ने बताए ।
श्रद्धाञ्जलि दिन पुगेका उपप्रधानमन्त्री एवं सञ्चारमन्त्री कृष्णबहादुर महराले भट्टराई अटल अडान र विश्वासका धनी भएको बताए । उनले सादा जीवन शैलीका भट्टराई नेपाली स्वतन्त्रताका प्रतिमूर्ति भएको टिप्पणी गर्दै प्रजातन्त्र, देश र जनताप्रति भट्टराईको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले २०४६ सालको जनआन्दोलनपछि एउटा संक्रमणकालबाट अर्को राजनीतिक अवस्थामा मुलुकलाई सफलतापूर्वक प्रवेश गराएर कठिन र चुनौतीपूर्ण अवस्थामा भट्टराईले कुशलतापूर्वक मुलुकलाई संविधान दिएको स्मरण गरे ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रियताको प्रतिकका रूपमा किसुनजी स्थापित भएको चर्चा गर्दै तत्कालीन अवस्थामा बीपी, गणेशमानले राजासँग हार खाँदा पनि भट्टराईले कहिल्यै सम्झौता गर्न तयार नभएको स्मरण गरे । भट्टराई त्यागी र आफ्नो अडानमा अविचलित नेता रहेको उनले बताए ।
त्यस्तै एमाले नेता केपी ओलीले भट्टराई लोकतन्त्रका पर्याय भएको बताए । उनले मिलनसार स्वभाव र अटल नेतृत्वदायी भूमिका भएका किसुनजीजस्ता व्यक्ति नेपाली राजनीतिले अब पाउन सक्नेमा शंका गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निकै भावुक हुँदै किसुनजी नेपाली स्वतन्त्रताका अटल खम्बा भएको बताए । २०४६ सालको आन्दोलनका नायक किसुनजी नेपाली जनताको मनबाट कहिल्यै नमर्ने उनको भनाइ थियो ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्ना स्वकीय सचिव पशुपति भक्त महर्जनलाई शनिबार भट्टराई निवास बाँडेगाउँ पठाएर भट्टराईप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।
यता, एकीकृत नेकपा माओवादीले पनि शोक वक्तव्य जारी गर्दै किसुनजीको निधनबाट मर्माहत कांग्रेसजन तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको छ । माओवादीले अटल अडान र निष्ठाको राजनीतिका प्रतिक भन्दै भट्टराईको सम्मान गरेको छ । नेपालमा स्वतन्त्रताको लडाइँमा हार नखाएका नेता भन्दै भट्टराईबाट नेपाली नेताहरूले आदर्शको राजनीति सिक्नुपर्ने आवश्यकता माओवादीले आफ्नो वक्तव्यमा औंल्याएको छ ।
मधेसी जनअधिकार फोरमले पनि शोक वक्तव्य जारी गर्दै भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
आफ्नो प्रतिक्रिया पठाउनुस्