
टाइम्स संवाददाता
काठमाडौं, फागुन २४ । ६ वर्षीया बालिकाको अपहरणमा संलग्न पाँचजनालाई मंगलबार काठमाडौंबाट एपीएफ टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्लाको चितलाङ–२ स्थित आफ्नै घरबाट सोमबार बिहान अपहरणमा परेकी ६ वर्षीया अञ्जली लामालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार दिउँसो काठमाडौं जिल्लाको मनमैंजु गाविस–२ बाट सकुशल अपहरणमुक्त गरेको छ । अपहरणमा संलग्न नुवाकोट जिल्ला तलाखु गाविस–४ बस्ने कुमार श्रेष्ठ र उनीसँगै रहेका तलाखु–४ कै रमेश श्रेष्ठलाई एपीएफ टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेट अगाडिबाट बिहान करिब साढे १० बजे पक्राउ गरेको छ ।
बालिका अपहरणमा परेको भनी टेलिफोनबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा मंगलबार बिहान जानकारी प्राप्त भएपछि उक्त विशेष टोली खटिएको सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयस्थित सूचना शाखाले जनाएको छ । सो टोलीले कुमार श्रेष्ठलाई पक्राउ गरेपछि उनकै बयानअनुसार खोजतलास अघि बढाउने क्रममा मनमंैजुस्थित छत्रलाल श्रेष्ठको घरबाट ती बालिकालाई सकुशल उद्धार गरिएको हो ।
सो टोलीमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक र बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी खटिएका थिए । एपीएफ टोलीले बालिका फेला पारिएको घरका धनी छत्रलाल श्रेष्ठ र निजकी श्रीमती सरला श्रेष्ठ तथा कुमार श्रेष्ठकी दिदी पार्वती श्रेष्ठलगायत सँगै ।।घरहेका सुवास श्रेष्ठलाई समेत पक्राउ गरेको छ । छत्रलाल र सरला आफ्नो सानीआमा–सानोबुवा रहेको कुमारले बताएका छन् ।
उनले बालिकालाई अपहरण गरी मोटरसाइकलमा राखेर सोमबार काठमाडौं ल्याई छत्रलाल श्रेष्ठको घरमा आफूले राखेको स्वीकार गरेका छन् ।
बालिकाकी आमा माया लामाले कुमार श्रेष्ठलगायत निजका आफन्तहरूद्वारा आफूलाई पटक–पटक फोन गरी काठमाडौंको विभिन्न स्थानमा छोरी राखेको भन्दै दुःख दिएको एपीएफ टोलीसमक्ष बताइन् । उनी लगायत बालिकाका आफन्तहरूले संभावित स्थानहरूमा खोजी गर्दासमेत कहीकतै फेला पार्न नसकेपछि विहान सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा अपहरणबारे जानकारी दिएका थिए ।
पक्राउ परेकाहरूलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ । सकुशल अपहरणमुक्त गरिएकी ती बालिकालाई समेत एपीएफ टोलीले प्रहरीको जिम्मा लगाएको छ ।