
टाइम्स संवाददाता
काठमाडौं, फागुन २५ । अवैध लागूऔषधसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई हालै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठको बाकसभित्र लुकाई नेदरल्याण्ड लैजान लागेको अवस्थामा लागूऔषध चरेस ४ किलो १ सय ग्राम बरामद भएपछि उक्त लागूऔषध पठाउने काठमाडौं–२९, गल्कुपाखा घर बताउने ४० वर्षीय नकुल थापा ठमेलबाट पक्राउ परेका छन् । थापालाई चरेस उपलब्ध गराउने गोंगबु बस्ने लम्जुङ घर भएका ४६ वर्षीय सितमान गुरुङ र कास्की जिल्ला लेखनाथ घर बताउने ३६ वर्षीय चिजकुमार गुरुङ ८ केजी चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू तीनैजना लामो समयदेखि लागूऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ ।
यसैगरी धादिङ कल्लेरी घर बताउने ४२ वर्षीय बलराम भन्ने रामबहादुर गरौजा मगर, धादिङ भूमिस्थान घर बताउने ३० वर्षीय धनबहादुर कुँवर र १७ वर्षीय मेखबहादुर कुँवर २० किलो ५ सय ग्रामसहित काठमाडौं, कलंकीबाट पक्राउ परेका छन् ।
धादिङ गोगनपानी घर बताउने २९ वर्षीय विष्णु लामा तामाङ, नुवाकोट कुमारी घर बताउने ५२ वर्षीय होमबहादुर मुडवरी र ४१ वर्षीय काजीमान तामाङ १५ किलो ५ सय ग्राम चरेससहित काठमाडौं सीतापाइलाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैगरी धादिङ भूमिस्थान घर बताउने २६ वर्षीय धनबहादुर तामाङ र १९ वर्षीया रविना तामाङ १० किलो ५ सय ग्राम चरेससहित काठमाडौं गोंगुबस्थित नयाँबसपार्कबाट पक्राउ परेका छन् । साथै काठमाडौं नागढुंगाबाट यू.पी. ८३ एन ३०४४ नम्बरको गाडीमा लुकाइ छिपाइ लैजान लागेको अवस्थामा भारत जिल्ला एटा थाना निधौली गाउँ नगलाफकिर घर बताउने २५ वर्षीय बिचित्रकुमार यादव, भारत जिल्ला फिरौजाबाद थाना एकका नैनावली घर बताउने ५० वर्षीय योगेशकुमार यादव र भारत जिल्ला फिरोजाबाद थाना एका लालगढी घर बताउने २२ वर्षीया नितु यादव एक सय ५० केजी चरेससहित पक्राउ परेका छन् ।
त्यस्तै अवैध लागूऔषध खैरो हेरोइन १९०.५५ ग्रामसहित भारत विहार रक्सौल चाठावाग्राम बस्ने ३० वर्षीय तुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–७ गौशालामा हेरोइन बिक्री वितरण गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
यसैगरी काठमाडौं नयाँबसपार्क बस्ने झापा जिल्ला पाँचगाछी घर भएका ३७ वर्षीय पहलमान तामाङलाई प्रहरीले अवैध लागूऔषधसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा फागुन २४ गते दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले फेला पारी तलासी गर्दा प्लाष्टिकको झोलामा रहेको फेरगान ५५ थान, डाइजेपाम इन्जेक्सन ४१ थान र नाइट्रोजन ट्याब्लेट २० थान बरामद भएको थियो ।