टाइम्स संवाददाता
काठमाडौं, फागुन १९ । कैलाली जिल्लाको वनवेहडाबाट एपीएफ टोलीले बिहीबार अवैध जडिबुटी तथा नेपाली कागज बनाउने सामग्रीसहितको एउटा ट्रक तथा सात जनालाई पक्राउ गरेको छ ।
लु.१ ख ५०६३ नम्बरको ट्रकमा ल्याइएको जडिबुटी तथा नेपाली कागज बनाउने सामानसहित सामान धनी तथा ट्रक चालकलगायतलाई सशस्त्र प्रहरी बल बडिमालिका गण वनवेहडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालय, सूचना शाखाले जनाएको छ । पक्राउ परेकाहरूलाई एपीएफ टोलीले बरामद सामग्री तथा ट्रकसहित आवश्यक कारबाहीका लागि वन कार्यालय अत्तरियामा बुझाएको छ ।
त्यसैगरी नवलपरासी जिल्लाको मुकुन्दपुर ६ बाट बिहीबार बिहान एपीएफ टोलीले चोरीपैठारीको दुई थान जेनेरेटरसहित ना.२ ख ६०७५ नम्बरको ट्रक बरामद गरेको छ ।
अवैध रूपले ल्याइएको उक्त जेनेरेटर सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलडियाबाट खटिएको एपीएफ टोलीले सवारीसाधनमा जाँच गर्ने क्रममा बरामद गरेको हो ।
एपीएफ टोलीले ट्रक चालकलाई समेत पक्राउ गरेको बताइन्छ । बरामद सामान तथा ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहियामा बुझाइएको सूचना शाखाले जनाएको छ ।