
टाइम्स संवाददाता
स्याङ्जा, फागुन २० । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउने उद्देश्यले स्याङ्जाको सेतिदोभानमा सञ्चालित श्रीमद्भागवत महापुराण धन धान्याचल ज्ञान महायज्ञ सम्पन्न भएको छ । १३ गतेदेखि सुरु भएको महायज्ञमा करिब ७० लाख रुपैयाँ संकलन भएको छ ।
महायज्ञमा अपेक्षाकृत रकम संकलन भएको जनाइएको छ । आँधिखोला विकास तथा वातावरण स्वच्छता समूह (गार्डेन) संस्थाको आयोजनामा सेतिदोभान गाविस–३, स्थित सेतिदोभान बजारमा सञ्चालन भएको महायज्ञ अवधिभर भक्तजनको सहभागिता पनि उल्लेख्य थियो ।
संकलित रकममा जिन्सी सामान समावेश नभएको आयोजक संस्थाका कोषाध्यक्ष युवराज ढकालले बताए । जिन्सी सामानसहित संकलित रकम करिब ७५ लाख पुग्ने अनुमान गरिएको ढकालको भनाइ छ ।
महायज्ञमा भागवत् भाष्कर युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गरेका थिए । महायज्ञमा संकलित रकमबाट करिब एक वर्षभित्रमा १५ शैøयाको अस्पताल निर्माण सम्पन्न गरिने आयोजक संस्थाका संस्थापक जयराम पौडेलले बताएका छन् । उनका अनुसार आवश्यक रकम संकलन गर्न संस्थाका सबै सदस्य परिचालन गरिनेछ । अस्पताल बनेपछि स्याङ्जाको उत्तरी क्षेत्रमा रहेका सेतिदोभान, फापरथुम, चिलाउनेबास, बिचारी चौतारा, बागेफड्के, बाङसिङ, पुतलीबजार नगरपालिकासहित पर्वत जिल्लाका दक्षिण पूर्वी क्षेत्रका कार्किनेटालगायतका गाउँ विकास समितिका तीन लाख ५० हजार जनताले स्वास्थ्य सेवाको सहज रूपमा सुविधा उपभोग गर्न पाउनेछन् ।