टाइम्स संवाददाता
काठमाडौं, फागुन २० । प्याराग्लाइडिङ गर्ने क्रममा हराएका बुल्गेरियन पाइलट कामेनभी कुमानोभलाई शुक्रबार बेलुका करिब पौने सात बजे सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराबाट खटिएको एपीएफ टोलीले सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको सारङकोटबाट प्याराग्लाइडिङ गर्ने क्रममा पानारोल प्यारामोटर कम्पनीका बुल्गेरियन पाइलट कुमानोभ कास्की जिल्लाको कोप्चुङ भन्ने इलाकाबाट हराएका थिए ।
फागुन १६ गते बिहान करिब साढे ११ बजेबाट सम्पर्कविहीन भएको भन्ने जानकारी प्राप्त भएपछि निजको खोजी कार्यका लागि एपीएफ टोली खटिएको थियो ।
निजको खोजी कार्यका लागि फागुन १९ गते दिउँसो पौने तीन बजे सशस्त्र प्रहरी निरीक्षक द्वारिका केसीको कमाण्डमा खटिएको एपीएफ टोलीले शुक्रबार बेलुका कुमानोभको सकुशल उद्धार गरेको हो । उनलाई कास्की जिल्ला माछापुच्छ्रे गाविस वडा नम्बर ९ रुम्दी खोलाको किनारमा फेला पारिएको हो ।
करिब ४० वर्षीय उमेरका कुमारोभ थकित अवस्थामा रहेको र उनको स्वास्थ्य स्थिति सामान्य देखिएको बताइएको छ ।