
वीरेन्द्र रावल
धनगढी, फागुन २५ । भारतका विभिन्न स्थानबाट नेपाल फर्किंदै गरेका ८ नागरिक भारतीय बजार गौरीफन्टामा लुटिएका छन् । उनीहरूमाथि कुटपिटसमेत भएको बताइन्छ ।
भारतबाट नेपाल आइरहेका ३०–४० जना नेपालीमध्ये ८ जनामाथि नेपाली रिक्सा चालकहरूले कुटपिट गर्नुका साथै ३८ हजार भारतीय रुपैयाँ लुटेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार पलियाबाट ४ बजे हिँडेको बस बिहान ५ बजे गौरीफन्टा पुग्ने बित्तिकै दर्जनौंको संख्यामा रहेका रिक्साचालकहरू बसको छतमा राखिएका सामान झार्न पुगेका थिए । कतिपयले बस भित्रै प्रवेश गरी कुटपिट गरेको उनीहरूले बताए ।
अछाम जिल्ला जुप गाविस–८ घर भएका नवलसिंह खड्काले आफू र श्रीमतीका साथ रहेको करिब ३८ हजार भारतीय रुपैयाँ पनि लुटिएको बताए । ‘बसभित्र हुल छिरेको मात्र देखेँ, एक्कासि एकजना आएर हाम्रो रिक्सामा बस् भनेर तान्न थाल्यो, मैले इन्कार गर्दा कम्मरमा राखेको पैसा लुटेर रिक्सा चालक भाग्यो,’ खड्काकी श्रीमती पार्वतीले भनिन् ।
आफूहरू उपचारका लागि भारत गएको उनले बताइन् । भारतमा काम गर्ने गाउँलेले उसकै घरका लागि पठाइदिएको रकम नै रिक्सा चालकले लुटेको पार्वतीले बताइन् ।
भारतको महाराष्ट्र कौधोलीबाट आएका अछाम, दर्ना–१ का रूपबहादुर खड्का रिक्सा चालकको कुटपिटबाट घाइते भएका छन् । उनको कन्चटमा चोट लाग्नुका साथै ओठ काटिएको छ ।
‘बसको छतमा राखिएका सामान जबर्जस्ती रिक्सा चालक आएर भुइँमा खसाल्यो, मैले उसको रिक्सामा नचढ्ने बताएपछि तँछाड मछाड गर्न थाले,’ पीडित लोकबहादुर खड्काले भने, ‘मैले धकेल्दा उसले कुटपिट गर्यो ।’
अछामका केशर रावल, भवान सिंह भण्डारी, हर्क भण्डारी र प्रकाश परियारसमेत कुटपिटबाट घाइते भएका छन् ।
मदिरा सेवन गरेका रिक्सा चालकहरूले आफ्नो रिक्सामा बस्न दबाब दिँदा आफूले नमानेपछि एक्कासि रिक्सा चालकले आक्रमण गरेको अधिकांशको भनाइ छ । भारतीय क्षेत्रबाट नेपाल आउने अधिकांश नेपाली मजदूरहरूले सीमा क्षेत्रमा भारतीय प्रहरीबाट यातना, सास्ती खेप्नु पर्ने र आर्थिक शोषणमा पर्नुपर्ने समस्या कायमै रहेको भए पनि नेपाली रिक्सा चालकले समेत नेपालीलाई नै दुःख दिने कार्य गर्न थालेको उक्त घटनाबाट प्रस्ट भएको देखिन्छ ।
धनगढीसँगै सिमाना जोडिएको भारतीय गौरीफन्टा बजारस्थित बसपार्कमा रहेको भारतीय कोतवालीका हेड काउन्स्टेबल विजय सिंह राठौरले लुटपाट र कुटपिटको बारेमा कुनै उजुरी नआएको बताउँछन् । ‘बिहान ४ बजेदेखि सुरक्षाकर्मी ड्युटीमा खट्छन्,’ उनले भने, ‘विवाद भएर कुटपिट हुँदा कसैले पनि जाहेरी गरेको भए दोषीमाथि कारबाहीका लागि पहल गर्नेथियौं, तर यसबारे कसैले पनि जानकारी दिएका छैनन् ।’
राठौरका अनुसार ५० प्रतिशत रिक्सा चालक गौरिफन्टामा बसेर अवैध कारोबार गर्छन् । ‘लुटपाट पनि उनीहरूले नै गर्ने गरेका छन्,’ उनले भने, ‘दिनभरी रक्सी खाएर बसेका हुन्छन्, जब नेपालीहरू आउँछन्– उनीहरूको लुटपाट गर्ने अभियान सुरु हुने गर्दछ ।’ त्यस्तालाई कारबाही गर्दा बन्द, चक्काजामजस्ता घटना हुने र त्यसले दुई देशबीचको सम्बन्ध बिग्रने त्रास बढाउने पनि उनले बताए ।
आफ्नो प्रतिक्रिया पठाउनुस्