
टाइम्स संवाददाता
कपिलवस्तु, फागुन २५ । राजनीतिक दलका नेताहरू संविधान निर्माण प्रक्रियामा भन्दा सत्ताको लुछाचुडिमा लागेको भन्दै कपिलवस्तुका एक दर्जन महिला अधिकारकर्मीले बुधबार सदरमुकाम तौलिहवामा प्रदर्शन गरेका छन् । उनीहरूले समयमा संविधान निर्माण गर्न दलका नेतालाई दबाब दिने उदेश्यले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
१०१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजित सभामा महिला अधिकारकर्मीहरूले आगामी जेठ १४ भित्र लोकतान्त्रिक संविधान निर्माण हुनुपर्ने, भूमिअधिकारबाट वञ्चित सबैलाई राज्यले जीविको टर्ने हिसाबले जग्गा उपलब्ध गराउँदा महिला–पुरुष दुवैको हक स्थापित हुनुपर्ने, महिलाविरुद्ध भेदभावपूर्ण कानुनी व्यवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले मुलुकी ऐन एघारौं संशोधनले छोरीलाई छोरासरह जन्मैदेखी पैतृक सम्पतिमा समान अधिकार भनेअनुसार कार्यान्वयन हुनुपर्ने, महिलामाथि हुने सबैखाले हिंसा, विभेद, शोषण, अन्याय, अत्याचार, उत्पीडिनको अन्त्य हुनुपर्ने, आगामी संविधान महिला मैत्री बनाउनुुपर्नेलगायतका माग अघि सारेका छन् ।
कार्यक्रममा महिलाअधिकारकर्मी रुक्मणी कुँवर, माधुरी श्रेष्ठ, कमला ढुंगाना, विमला घिमिरे, प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापालगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
२०६३ सालको अन्तरिम संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता भने पनि कार्यान्वयन नभएकोप्रति उनीहरूले चिन्तासमेत व्यक्त गरेका थिए ।
समयमा संविधान निर्माण र महिला अधिकारको सुनिश्चिततालगायत नारा लेखिएका प्लेकार्ड बोकेर सदरमुकाम तौलिहवा बजारका विभिन्न भाग परिक्रमा गरेको जुलुस जिल्ला प्रशासन कार्यालयअगाडि सभामा परिणत भएको थियो ।
आफ्नो प्रतिक्रिया पठाउनुस्